भारतीय सुरक्षाकर्मीको गोली लागेर सिमामा ज्यानको बलि दिएका गोविन्द गौतमको शालिक अनावरण

तीन वर्षअघि भारतीय सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त गर्नुभएका कञ्चनपुरको पुनर्वास नगरपालिकाका गोविन्द गौतमको आज सालिक अनावरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य एवम् नेकपा सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङले उक्त सालिकको आज एक कार्यक्रमबीच अनावरण गर्नुभयो । प्रमुख सचेतक लामाको सांसद विकास कोषको रु आठ लाख तथा पुनर्वास नगरपालिकाको रु पाँच लाखको लागतमा स्थानीय आनन्द बजारमा गौतमको सालिक निर्माण गरिएको हो । सालिक अनावरणपछि प्रदेशसभा सदस्य लामाले सीमा व्यवस्थापनका लागि सरकार लागिपरेको बताउनुभयो ।

कञ्चनपुर, पुनर्बास नगरपालिका–४ मा निर्मित शहीद गोविन्द गौतमको शालिक अनावरणपछि बिहीबार उहाँका परिवारजन, सुदूरपश्चिम प्रदेशसभा सदस्य, नेकपाका प्रमुख सचेतक तारालामा तामाङलगायत नगरपालिकाका जनप्रतिनिधि । तस्वीरः शेरबहादुर सिंह

गौतमकी आमा हरिदेवी गौतमले सालिक स्थापना गरेको हेर्ने चाहना पूरा भएको बताउनुभयो । कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापा, राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता, शहीद गौतमका बुबा, आमा, श्रीमती र छोरीहरु उपस्थित हुनुहुन्थ्यो ।

कञ्चनपुर, पुनर्बास नगरपालिका–४ मा बिहीबार अनावरण गरिएको शहीद गोविन्द गौतमको शालिक । गौतमले विसं २०७३ फागुन २६ गते नेपाल–भारत सीमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गर्नुभएको थियो । तस्वीरः शेरबहादुर सिंह

नेपाल–भारत सीमा क्षेत्रको कल्भर्ट निर्माणका विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर पुनर्वास नगरपालिका–४ का गौतमले सहादत प्राप्त गर्नुभएको थियो । गौतमले सहादत प्राप्त गरेयता उक्त सीमा नाका अझै सञ्चालनमा आएको छैन । रासस