एका बिहानै आँप बोकेर चितवन आएको भारतीय ट्रक तो*डफो*ड, पेट्रोल छर्केर जलाउने प्रयास असफल

चितवन, २६ असार । भारतबाट आँप बोकेर नेपाल आएको ट्रकलाई चितवनमा तो*डफो*ड गरिएको छ ।

उक्त ट्रकलाई नारायणगढ क्षेत्रपुरस्थित महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा तो*डफो*ड गरिएको हो ।

विहान तीन बजे आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपी ४१ ए टी २६९१ नम्वरको भारतीय मालबाहक ट्रकमा तीन जना युवाले तोडफोड गरेका हुन् ।

स्कुटरमा आएका ती युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् ।

उनीहरुले पेट्रोल छर्किएर आ*गो लगाउने प्रयाससमेत गरेको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । ‘ती युवाहरुले तोडफोडपछि पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका रहेछन्, तर चिसोका कारणले सलाई ओसिएपछि आगो नबल्दा ट्रक जोगियो,’ अध्यक्ष धितालले भने, ‘यसले ब्यापारीहरुमा भय बढाएको छ ।’

सो ट्रकमा पाँच टन आँप थियो । ट्रकमा तोडफोड गर्दै आगजनीको प्रयास गरेपछि केही ब्यापारीहले प्रतिकार गरेका थिए । त्यसपछि ती युवाहरु स्कुटरमै फरार भएको चितवन प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले दोषीहरुको पहिचान नभएको बताए । प्रहरीले तोडफोड गर्नेहरुको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।

चितवनकै सबैभन्दा ठूलो यो तरकारी बजारमा सीसीटीभीसमेत नभए पछि यस्ता आपराधिक घटना घटाउन सजिलो हुने गरेको छ ।