आज प्रेम दिवस : प्रेम साट्न रानीमहलमा जोडीहरु

आज प्रणय दिवस, युवायुवतीले विशेष दिनका रुपमा लिने गर्दछन् । पश्चिमा संस्कृतिका रूपमा लिइएको यो दिवस पछिल्लो समय नेपालमा पनि विशेष उत्सवकै रुपमा लिने गरिएको छ । प्रणय दिवसमा गुलाबको फूल तथा अन्य विभिन्न उपहार दिएर आफूलाई मन पर्ने अर्थात् माया गर्ने मान्छेलाई खुशी पार्ने र रमाइला ठाउँहरु घुम्ने चलन छ ।

प्रेमभाव व्यक्त गर्न विभिन्न एकान्त ठाउँमा युवायुवतीका जोडी देख्ने गरिन्छ । जोडीहरु प्रेमको प्रतीकका रूपमा लिइने पाल्पाको ऐतिहासिक रानीमहल पुग्ने पनि प्रशस्तै भेटिने गरेका छन् । प्रणय दिवसका अवसरमा सयौँ जोडी पाल्पा आउने गर्दछन् । रानीमहलसँगै यहाँका श्रीनगरडाँडा, रामचेडाँडा, तालपोखरा, शिद्धबाबा क्षेत्र भुजातलगायतका अन्य स्थलमा पनि प्रेम साटासाट गर्ने जोडी देख्न सकिन्छ ।

नेपालको ताजमहलका रूपमा परिचित रानीमहल विश्वमा नै चिनारी बनाए पनि यसको व्यवस्थापन मोटरबाटो, त्यस क्षेत्रमा होटल व्यवसायलगायतका विकास त्यति नभएको त्यहाँ पुग्ने पर्यटकको गुनासो सुन्न सकिन्छ । दैनिक हजारौँ पर्यटन आउने स्थानमा राम्रो बास, खानेपानी तथा खाजा नास्ताको समेत प्रबन्ध गरेर दरबार प्रवेश र अवलोकनका लागि शुल्क लिनेसमेत व्यवस्था गर्न सके यहाँ आउने पर्यटनको सङ्ख्यामा समेत वृद्धि गर्न सकिने उद्योग वाणिज्य सङ्घ रामपुरका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको भनाइ छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भएको अध्ययन अवलोकन तथा योजना निर्माण कार्यक्रममा रानीमहल क्षेत्रको विकास गर्न सके लुम्बिनी आएका पर्यटकलाई रानीमहल हेरेर पोखरासम्म पुग्ने वातावरण सिर्जना गर्नुपर्ने उद्योगी व्यवसायीको धारणा छ । कालीनदी किनारमा रहेको सुन्दर रानीमहल तत्कालीन राजा खड्गशम्शेरले तेजकुमारीको सम्झनामा विसं १९५४ मा निर्माण गरेका थिए । धीरशम्शेरका १७ भाइ छोरामध्येका एक भाइ वीरशम्शेर प्रधानमन्त्री भएको समयमा उहाँका भाइ खड्गशम्शेर कमाण्डर इन चिफ भएको १८ महिनापछि पदमुक्त पाल्पामा निर्वासित हुनुभएको थियो ।

विसं १९४५ मा उहाँलाई रुपन्देही, कपिलवस्तु, वागलुङ, पर्वतलगायतका क्षेत्रको जिम्मेवारीका साथ पाल्पा गौँडामा पश्चिम कमाण्डरको जिम्मेवारी दिइएको थियो । तत्कालीन गौडाका राजा खड्कशम्शेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा बनाएको रानीमहलमा पुगेर बाचाकमस खानेको चहलपहल हुने गर्दछ । सन् १९४५ मा आफ्नी श्रीमतीको निधनमा भावविह्वल भएका खड्गशम्शेरले श्रीमतीको स्मृतिमा भारतको आग्रामा रहेको ताजमहलजस्तै बगैँचासहितको दरबार निर्माण गर्ने अन्तिम बचन दिनुभएको थियो ।

श्रीमतीको सम्झनामा भारतमा रहेका इञ्जिनीयर झिकाएर पाँच वर्ष लगाएर दरबार निर्माणकार्य विसं १९५४ मा पूरा गरिएको उल्लेख छ । सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तर कालीनदी किनारमा २४ कोठा भएको दरबारमा दुई पोखरी, मन्दिर, बगैँचा, पाटी, घोडा तबेला साथै भक्तिनी बस्ने स्थानसमेत देख्न सकिन्छ । खड्गशम्शेर पाल्पाबाट पलायनपछि संरक्षण अभावमा दरबारका कयाँै बहुमूल्य सामान सड्ने, हराउने, बिग्रने, चोरी हुने र दरबार भग्नावशेषजस्तै भएको बेला केही मर्मतसम्भार भए पनि यसको संरक्षण र विकासको पहल भएको देखिँदैन ।

पुरातत्व विभागले विसं २०६५ मा दरबारका मुख्य भागको मर्मत गरे पनि निरन्तर संरक्षणको अभावले पुरानै अवस्थामा पुग्न थालेको छ । विसं २०६८ मा जिल्ला विकास समिति, भूसंरक्षण कार्यालयलगायतका निकाय र नेपालीको सहयोगमा दरबारको अगाडिपट्टि तटबन्ध, बगैँचा निर्माण, गरेको थियो भने पटक–पटक गोरखदल गणले सरसफाइका काम गर्दै आएको छ । विसं २०६७ मा पर्यटन कार्यालय भैरहवाको आर्थिक सहयोगमा दरबारको माथिल्लो भाग पूर्णरूपमा मर्मत गरी रेखदेखको काम भएको थियो ।

पुरातत्व विभागले विसं २०७५ साउन १० गते तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको थियो । हिन्दू धर्मअनुसार रानीमहल क्षेत्रमा कालीनदी उत्तरतर्फ फर्केर बगेको हुनाले त्यस स्थानमा स्नान गरे वा पानी छोएमात्रै पनि पवित्र भइन्छ भन्ने धार्मिक विश्वाससमेत रहेको छ । रानीमहल क्षेत्रमा दैनिक तीन हजारदेखि १० हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका रानीमहल संरक्षण समितिले जनाएको छ ।

दरबारको संरक्षणका निम्ति जिल्ला समन्वय समितिको कार्यालय, पर्यटन कार्यालय भैरहवा, जिल्ला भूसंरक्षण कार्यालय, गोरखदल गण, जिल्ला प्रहरी कार्यालय, रानीमहल संरक्षण समिति, समाजसेवा असल शासन क्लब सटुका, बढीचौर स्याङ्जा, कालीगण्डकी गाउँपालिका स्याङ्जा, बगनासकाली गाउँपालिका पाल्पा तथा तानसेन नगरपालिकाले सहयोग गर्दै आएका छन् ।