प्रचण्डको उद्घोष : चन्दाले चितवनको क्रिकेट रङ्गशाला बन्दैन

काठमाडौ, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका–१६ मा बन्न लागेको क्रिकेट रंगशाला देशकै गौरवको आयोजना भएको बताएका छन् ।

उनले रंगशाला निर्माणमा केही उल्झन, साना–मसिना समस्या आउने बताउँदै सबैसँग सहमति, छलफलबाट टुंगो लगाइने उनको भनाइ थियो ।

‘चितवनमा बन्न लागेका जस्ता रंगशालालाई सरकारले प्रोत्साहन गर्ने नीति लिएको छ । आवश्यक पर्दा सरकारले सहयोग गर्छ’, उनले भने, ‘चितवनको रंगशाला राष्ट्रिय गौरवकै आयोजनाका रुपमा छ । यो चितवनको लागि मात्रै नभएर देशकै लागि पनि महत्त्वपूर्ण छ । सबै चितवनबासीले यसलाई बनाउन सघाउनुपर्छ ।’ यो रंगशाला बनाउने क्रममा पैसा पुगेन भने सघाउने नीति सरकारले लिएको उनले प्रष्ट परे ।

‘चन्दा उठाएर मात्रै पनि रकम पुगेन भने यस्ता आयोजनालाई प्रोत्साह गर्ने भनेको छ सरकारले’, दाहालले थपे, ‘चन्दाले मात्रै यति ठुलो आयोजना बन्दैन, त्यहीकारण यो वर्षका नीति तथा कार्यक्रममा एउटा आधार तय गरेका छौँ ।’

बुधबार चितवन पुगेका अध्यक्ष प्रचण्डले पत्रकारसँग कुरा गर्दै सहमतिअनुरूप सरकारको नेतृत्व आलोपालो हुने प्रतिक्रिया दिए ।

उनले पार्टीभित्र पर्याप्त छलफल नगरी विधेयकहरु ल्याइएकाले विरोधको सामना गर्नुपरेको बताए । ‘विधेयकका सन्दर्भमा तयारी राम्रो पुगेन । जति गृहकार्य भएर विधेयक आउनुपर्थ्यो,, त्यो नपुगेकै हो । सरकार, पार्टी यसमा सतर्क भएको छ,’ उनले भने ।