बेलायतमा ब्रिटिश गोर्खा सेनाले प्रधानमन्त्री ओलीलाई दियो सलामी (फोटो फिचर)

काठमाडौँ । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिगेड अफ गोर्खाजको हेडक्वाटरमा स्वागत सलामी दिइएको छ । जुन ११ तारिखका दिन लेफनेन्ट जनरल सर निक पोपको टिमले उनलाई गोर्खाली परम्परा अनुसारको सलामी दिएका थिए ।

प्रधानमन्त्रीको स्वागतका लागि सान्धुर्स्टस्थित रोयल मिलिटेरी एकेडेमीमा ब्रिटिस गोर्खा सेनाका परिवारजन समेत उपस्थित थिए । तस्विरहरु हेर्नुहोस :

०००

यो पनि

प्रम ओली आज फ्रान्स जाने

काठमाडौँ, २९ जेठ ।

संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर आज दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाँदै हुुनुहुन्छ । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीसँग संयुक्त अधिराज्यका एशिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्ट फिल्डले लण्डनस्थित नेपाली दूतावासमा आजै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । यसैगरी प्रधानमन्त्री ओलीसँग बेलायतको इन्टरनेशनल मेरिटाइम अर्गनाइजेशनका महासचिव, विश्व ऊर्जा परिषद्का वरिष्ठ अधिकारी, एडिनबर्ग रोयल बोटानिकल गार्डेन र वनस्पति विभागका प्रमुखले आजै दिउँसो शिष्टाचार भेट गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओली आजै आफ्नो स्वागतमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजना गर्ने समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।

सरकारले आवश्यकता र प्राथमिकताका आधारमा ऋण लिन्छ : प्रम ओली

काठमाडौँ, २९ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताउनुभएको छ । बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट गर्नुभयो ।

नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी भएको बारेको प्रश्नमा उहाँले भन्नुभयो, ‘‘हामी लगानीका लागि आमन्त्रण गर्छौँ । हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ । हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौँ । हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ र यसको हिसाबकिताब पनि गरेका छौँ ।’’

विकासका संरचना निर्माण गर्दा वातावरणमा पर्ने प्रभावका विषयको प्रश्नमा प्रधानमन्त्री ओलीले वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताउँदै यस वर्ष एक करोडभन्दा बढी रुख रोप्ने अभियान चलाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रुख रोप्न सक्छौँ । हामी नदीका लागि पनि काम गरिरहेका छौँ । हामीसँग ४५ प्रतिशत भूभागमा वन छ । नेपालको १७ प्रतिशत भूमि हिउँले ढाकेको छ, १३ प्रतिशत भूमि सबै मौसममा हिउँले ढाकेको हुन्छ । यसले पानी पुनःभण्डार र सञ्चयमा सहयोग गरिरहेको छ । यसले वायु र भूमिलाई चिसो पनि बनाइरहेको छ । हाम्रो वनले निकै योगदान दिइरहेको छ । वातावरणीय प्रश्नका लागि हामीसँग ६२ प्रतिशत भूमि छ ।’’ उहाँले विकासको कुरा गर्दा वातावरण क्षय र लापरवाहीको प्रश्न सधैँ देखिए पनि नेपाल यसप्रति सचेत भएको उल्लेख गर्नुभयो ।

कार्यक्रमको आरम्भमा नवीनसिंह खड्काको सगरमाथा चढ्न जाने यात्रुको लामो लाममा आरोहीले घण्टौँ पर्खनुपर्ने अवस्थाको प्रस्तुति थियो । यस वर्ष ११ आरोहीको मृत्यु भएको समाचारमा देखाइएको थियो । प्रस्तुतिमा एक आरोही अलन आर्नेटले सगरमाथामा यस वर्षको घातक अवस्थाका तीन कारण – सीमित उपयुक्त मौसम दिन, बढी अनुमति तथा बजार प्रतिस्पर्धाका कारण कम्पनीले प्रस्ताव गरेको न्यूनमूल्य रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलेको बताउँदै त्यत्ति धेरै अनुमति नदिइएको स्पष्ट गर्नुभयो । ‘‘आरोहीले राम्रो मौसमका लागि कुरे । कहिलेकाहीँ उनीहरुले धेरै दिन कुर्नुपर्छ । यसमा पुनःविचार गर्नु आवश्यक छ । हल्ला गरिएझैँ जटिल अवस्था होइन’’, उहाँले भन्नुभयो ।

आगामी दिनमा आरोहीलाई अनुमति दिँदा र सम्बन्धित अधिकृतका विषयमा पनि ध्यान दिइने बताउँदै उहाँले यातायात अवरुद्ध भएकैले आरोहीको मृत्यु भएको कुरा साँचो नभएको स्पष्ट गर्नुभयो । “हामीले केही नियममा संशोधन गरेका छौँ । पथप्रदर्शकको सङ्ख्या, अक्सिजन सिलिण्डरको सङ्ख्या, तयारी आवश्यकता, आरोहणको उचित सङ्ख्या आदिका विषयमा हामीले संशोधन गरेका छौँ’’, प्रधानमन्त्री ओलीले भन्नुभयो । (तस्वीर : बिबिसी वल्र्ड लाइभ स्ट्रिम/रासस)