तिलगङ्गा–ताम्रगङ्गा सडक बन्द

सांस्कृतिक सम्पदाका दृष्टिले खुल्ला सङ्ग्रहालयका रुपमा रहेको पशुपति क्षेत्रको अस्तित्वमा आँच आउन नदिन तिलगङ्गा–ताम्रगङ्गा सडक बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) र सर्वोच्च अदालतको आदेशमा सडक बन्द गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । पशुपति क्षेत्रमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण ५०० मठ–मन्दिर, पाटीपौवा, घाट, विहार–चैत्य रहेको खुल्ला सङ्ग्रहालय भएकाले यसको संरक्षणका लागि सडक बन्द गर्नुपरेको जनाइएको छ । सडक बन्द गर्न युनेस्कोको मुख्य कार्यालयले सन् २०१२ मे ११ तारिखका दिन नेपाल सरकारकालाई पत्र लेखी तिलगङ्गा–ताम्रगङ्गा सडक बन्द नगरेर पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाइदिने चेतावनी दिएको थियो ।

अधिवक्ता तुलसी सिम्खडाले यो सडक बन्द गराउन सर्वोच्च अदालतमा हाल्नुभएको रिटमा नेपाल सरकारका नाममा उत्प्रेषणयुक्त परमादेश जारी भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कोषलाई पटक÷पटक सडक बन्द गर्न पत्राचार गरेको थियो । युनेस्को र सर्वोच्च अदालतका आदेश एवं मन्त्रालयको पटक÷पटकको पत्राचार कार्यान्वयन गराउन कोषले गत पुस ३ गते गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशन गरी सडकमा पर्खाल लगाउन ठेक्का आह्वान गरेको थियो । जसअनुसार पिआर कन्स्ट्रक्सन भक्तपुरसँग गत वैशाख १२ गते सम्झौता भएको थियो । सम्झौता बमोजिम निर्माण व्यवसायीले वैशाख ३० गते सोमबारदेखि काम शुरु गरेकाले सडक बन्द भएको कोषका सदस्य सचिव डा ढकालले बताउनुभयो ।रासस