उद्गमस्थल वाग्द्वारमा वाग्मती तीर्थयात्री समूह

वाग्मती तीर्थयात्रीको समूह आज १९ तीर्थको भ्रमण गर्दै वाग्मतीको उद्गमस्थल वाग्द्वारमा पुगेको छ ।

बिहान ७ बजे सुन्दरीजलबाट शुरु भएको यात्रा गोकर्णेश्वर नगरपालिका–१ प्राकृतिक सौन्दर्य रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मनमोहक क्षेत्र पार गर्दै १९ तीर्थमा स्नान, पूजा र दर्शन गर्दै दिउँसो वाग्द्वार पुगेको हो । तीर्थमा यज्ञसहित १९ पार्थिव लिङ्ग पूजनसमेत गरिएको थियो । सुन्दरीजलबाट वाग्द्वारसम्म कोलमती, वाल्मीकि, अमलाम्बु, श्वेतबराह, सुन्दरीमाई, सहस्रसुन्दरी, चाङमती, मदलाम्बु, काकगङ्गा, निमलाम्बु, नागमती, स्यालमती, पुण्यमती, धनुष, विमलाम्बु, गजमती, महाकाल, धर्मावती र सहस्रधारा गरी तीर्थमा स्नान, पूजा र दर्शन गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।

सुन्दरीजलबाट नदी किनार पैदलयात्रा गरी तीर्थ परेका स्थानमा स्नान, पूजा र दर्शन गरी तीर्थयात्री समूह सुन्दरीजल पुगेको यात्राका मूलपुरोहित महेश भट्टले बताउनुभयो । आजको बास वाग्द्वारमै गर्ने जनाइएको छ । बेलुकी वाग्मतीको तान्त्रिक साधनासहित नदीको महत्वका बारेमा प्रवचन गरिने जनाइएको छ । हिमवत्खण्डलगायत पौराणिक ग्रन्थमा उल्लेख भएका वाग्मतीको महत्वका बारेमा तीर्थ यात्राका मूलपुरोहित भट्टले वाचन गर्नुहुनेछ । वैशाख शुक्ल षष्ठीका दिन वैशाख २७ गते शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरबाट यात्रा शुरु भएको थियो । समूह कटुवालदहबाट सुन्दरीघाट, टेकु शङ्खमूल हुँदै पशुपति क्षेत्र आइपुगेको थियो । ने मुनिले शुरु गर्नुभएको विश्वास गरिने वाग्मती तीर्थयात्रा वाग्मती प्रदूषित हुन थालेपछि विसं २०४१ देखि बन्द भएको थियो ।

कोषका सदस्य सचिव डा ढकालको विशेष पहलमा विसं २०७५ देखि तीर्थयात्रा पुनः शुरु भएको हो । तीर्थ यात्राका क्रममा कटुवालदहबाट वाग्द्वारसम्मका १६५ तीर्थ स्थलमा स्नान, पूजा, आरती, दर्शन, तान्त्रिक साधना, वाग्मती माहात्म्य वाचनलगायत कर्म गरिन्छ । वाग्द्वारमा आज बेलुकी सबै तीर्थयात्रीले नृत्य गर्नुपर्ने विधि रहेको आगम घरका पूजारी मदन भट्टले बताउनुभयो । बिहीबार बिहान वाग्द्वारबाट बूढानीलकण्ठ आई स्नान, पूजा एवं दर्शन गरिने छ । बिहीबार बेलुकीको बास बस्न बज्रयोगिनी पुगिन्छ । जेठ ३ गते शुक्रबार चाँगुनारायण स्नान, पूजा र दर्शन गरी पशुपतिनाथ आएर बास बसिने छ ।

जेठ ४ गते शनिबार वैशाख शुक्लपूर्णिमाका दिन पशुपति रुद्रगाडेश्वरमा समापन यज्ञ गरेपछि यस वर्षको नौ दिने यात्रा समापन हुनेछ । त्यसै दिन यात्राको जल प्रसाद वितरण गरिने जनाइएको छ । विसं २०४१ सम्म वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म १७ दिनयात्रा गरिन्थ्यो । गतवर्ष पुनःनिरन्तरता दिँदा यसको अवधि साता दिन थियो । यसवर्ष नौ दिन गरिएकामा विसं २०७७ मा बढाउने कोषले जनाएको छ । यात्रामा ५३ जना महिला भक्तसहित १११ तीर्थयात्री छन् । विसं २०४१ सम्म वाग्मती नदीभित्र पानीमै खाली गोडायात्रा हुन्थ्यो । नदी स्वच्छ हुँदा कटुवाल दहबाट वाग्द्वारसम्मका १६५ वटै तीर्थस्थलमा वाग्मतीकै जलले स्नान गरिन्थ्यो

हाल प्रदूषित पानी भए पनि हातमा छम्कँदै हिँड्न बाध्य हुनुपरेको पूजारी भट्टले गुनासो गर्नुभयो । कतिपटक त फोहर पानीले हातमा चिलाएर घाउ उत्रिएको अनुभव समेत उहाँले सुनाउनुभयो । तीर्थ यात्राले वाग्द्वारकै जस्तो स्वच्छ पानी कटुवाल दहबाट उपत्यका बाहिर पठाउने गरी जागरण अभियान फैल्याउने कोषको लक्ष्य छ । यसका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र वाग्मती सफाइ महाअभियान लगायत सहायक नदीको सफाइ अभियानसँग सहकार्य गरिने पनि सदस्य सचिव ढकालले बताउनुभयो ।रासस