ग्राहकलाई ठग्ने वर्ल्डलिङ्कका पूर्वकर्मचारी कुइकेल पक्राउ

काठमाडौं, १ जेठ । सबै ग्राहकको मन जित्न सफल इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कको पुर्व कर्मचारी ठगी आरोपमा पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले वर्ल्डलिङ्कका पूर्वकर्मचारी १८ वर्षीय सुशान्त ओझा भनिने निरज कुइँकेललाई वसुन्धराबाट पक्राउ गरेको हो ।

एसपी केदार ढकालका अनुसार कुइँकेलले गत वर्ष माघमा जागिर छाडेका थिए । तर, मोबाइल र परिचय पत्र भने साथमै थियो । जसको दुरुपयोग गरेर विभिन्न स्थानमा इन्टरनेट जोड्ने, रकम असुली गर्ने र पैसा नदिए लाइन काट्ने काम गरिरहेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको ढकालले बताए ।

अनुसन्धानका क्रममा कुइँकेलले १५ जनाभन्दा बढी पुराना सेवाग्राही र नयाँ ग्राहक समेत बनाएर अवैध रुपमा ६५ हजार रुपैयाँ असुली गरेको देखिएको छ ।

उनलाई ठगी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।