बलिउड निर्देशक झा भन्छन् – ‘नेपाल दोस्रो घर जस्तै लाग्छ’

काठमाडौं, २ फागुन । बलिउड निर्देशक प्रकाश झाले फिल्म फेस्टिभल कलाको उत्सव भएको बताउँदै आफू नेपालमा संसारका विभिन्न देशका संस्कृति सिनेमा मार्फत् हेर्ने उत्सुक रहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा गृहमा सुरु भएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को औपचारिक उद्घाटनमा बोल्दै झाले यस्तो धारणा राखेका हुन् ।

स्वदेशी तथा विदेशी फिल्मको फिचर विधाका मुख्य निर्णायकको जिम्मेवारी निर्वाह गर्न नेपाल आएका उनले फेस्टिभलका दौरान विदेशीसँगै नेपाली भाषाका पनि उत्कृष्ट फिल्म हेर्न पाउने अपेक्षा व्यक्त गरे । ४० वर्षदेखि सिनेमामा काम गरिरहेको बताउँदै उनले हरेक दिन इन्जोए गरिरहेको बताएका थिए ।

‘४० वर्षदेखि सिनेमामा काम गरिरहेको छु तर कुनै दिन यस्तो छैन जहाँ मैले यो काममा इन्जोए नगरेको हुँ,’ –झाले भने । उनले आफू नेपालको बोर्डरमा जन्मिएको बताउँदै नेपाल दोस्रो घर जस्तै लाग्ने गरेको बताए । ‘म बिहारमा जन्मिएको हुँ, जहाँ नेपालको बोर्डर पथ्र्यो । हामी त के हाम्रा गाईबस्तु पनि चर्नलाई नेपाल जान्थे । यसरी नेपालसँगको नाता गहिरो भएपनि काठमाडौं आएको भने पहिलो पटक हो। सिनेमाका कारणले आउन पाउँदा दोब्बर खुशीलागेको छ,’ –झाले भने ।

त्यसअघि पानसमा बत्ति बालेर समारोहको उद्घाटन गर्दै सभामुख अग्नि सापकोटाले सिनेमा साँस्कृतिक पहिचानको मुख्य माध्यम भएको बताएका थिए ।