इन्डियन आइडल : एक प्रतिस्पर्धीले नेहा कक्कडलाई उपहार लिन स्टेजमा बोलाएर अचानक अंकमाल गर्दै गालामा चुम्बन गरेको भिडियो भाइरल !

एजेन्सी, ६ कार्तिक । यति बेला भारतको चर्चित गायन रियालिटी शो इंडियन आइडलको ११ सिजन चलिरहेको छ । यो कार्यक्रम अहिले अनेक कुराका चर्चामा आइरहेको छ । शो मा आएका ट्यालेन्टहरुको चर्चा मात्र नभएर शो को क्रममा भएका किस्साहरुको बारेमा पनि चर्चा भइरहेको छ । हालै शोमा एक प्रतिस्पर्धीले जज नेहा कक्कडलाई चुम्बन गरेको भिडियो भाइरल भैरहेको छ ।

गएको एपिसोडमा एक प्रतिस्पर्धीले नेहासँग अंकमाल गर्दै गालामा चुम्बन गर्छन् । नेहालाई चुम्बन गर्ने ती प्रतिस्पर्धी राजस्थानी पोशाकमा आएका थिए भने नेहाको लागि कैयौं उपहार पनि लिएर आएका थिए । ती उपहारहरु लिन जब नेहा उक्त युवकको छेउमा गइन् तब युवकले नेहासँग अंकमाल गरे र अचानक उनको गालामा चुम्बन गरिदिए । यो देखेर नेहाको साथ–साथ होस्ट आदित्य नारायण, जज अनु मलिक र विशाल डडलानी अचम्ममा परेका थिए ।

यो भिडियो सोनी टेलिभिजनको सामाजिक सञ्जालमार्फत बाहिरिनेवित्तिकै भाइरल भयो र सबैतिर चर्चा भयो । ट्वीटरमा एक प्रयोगकर्ताले यस बारेमा विशाल ददलानीलाई प्रश्न सोधे, ‘सर ती व्यक्तिलाई यति सजिलै जान दिन हुँदैनथ्यो । ’ यसमा विशालले जवाफ दिए, ‘म पुलिस बोलाइयोस् भन्ने चाहन्थेँ तर नेहाले उसलाई जान दिइन् । ती पुरुषलाई मानसिक उपचारको खाँचो छ, हामी उसलाई यसमा मद्दत गर्नेछौं ।’