फेवा तालको संरक्षणका लागि सहयोग

पश्चिमाञ्चल होटल सङ्घ पोखराले फेवा तालको संरक्षणका लागि उपल्लो तटीय क्षेत्रलाई लक्षित गरी गठित फेवा वाटरसेड इकोसिष्टम म्यानेजमेण्ट बोर्डलाई आज रु एक लाख ११ हजार १११ आर्थिक सहयोग गरेको छ ।

पोखराको लेकसाइडमा आयोजित बोर्डको बैठकमा सङ्घका अध्यक्ष विकल तुलाचनले बोर्डका संयोजक पुण्यप्रसाद पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा सङ्घका अध्यक्ष तुलाचनलले वातावरण संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सङ्घले विगतमा पनि विभिन्न काम र गतिविधि सञ्चालन गर्नुका साथै आर्थिक सहयोगसमेत गरेको बताउनुभयो ।

यसअघि पनि सङ्घले दुई पटक गरेर रु दुई लाख एक हजार १११ ताल संरक्षणका लागि बोर्डलाई प्रदान गरिसकेको छ । उपल्लो तटीय क्षेत्रको संरक्षण भए फेवा तालको संरक्षणमा ठूलो टेवा पुग्ने सोचका साथ तीन वर्ष अघि बोर्डको स्थापना गरिएको हो ।

कार्यक्रममा बोर्डका संयोजक पौडेलले हालसम्म सो संस्थामार्फत भएका संरक्षणका काम सम्बन्धमा जानकारी दिँदै डब्लु डब्लु एफ– हरियो वन र पोखरा महानगरपालिका तथा स्थानीयवासी एवं सरोकारवालासँगको सहकार्यमा संरक्षणका काम भइरहेको बताउनुभयो ।

उहाँका अनुसार उपल्लो तटीय क्षेत्रमा अघिल्लो वर्ष मात्र लगभग रु २१ लाखको लागतमा संरक्षणका काम गरिएको थियो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा यो आर्थिक वर्षमा काम गर्ने गरी फेवा तालको मुहानको रुपमा रहेका खोलामा पाँचवटा ‘चेक ड्याम’ निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

योजनाका लागि रु ३४ करोड बजेट विनियोजन गरिएको जानकारी दिँदै उहाँले यस वर्ष जलकुम्भी झार तालबाट हटाउने योजनालाई प्राथमिकता दिइने बताउनुभयो । उपल्लो तटीय क्षेत्रमा घरवास सञ्चालन, अम्रिसो, कफिलगायत आयआर्जनसँग सम्बन्धित खेतीसँगै संरक्षणका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताइएको छ ।