अव्यवस्थित बजारलाई नियन्त्रण सिटीमार्ट निर्माण हुँदै

इलाम बजारमा सञ्चालित अव्यवस्थित बजारलाई नियन्त्रण गर्न सिटीमार्ट निर्माण भइरहेको छ । प्रदेश सरकार र इलाम नगरपालिकाको पहलमा सिटीमार्ट निर्माण भइरहेको हो । देशकै दोस्रो सफा शहर घोषित इलाम बजारलाई अझ सुन्दर बनाउन पनि यस सिटीमार्टले सहयोग गर्ने अपेक्षासहित मार्ट निर्माणको काम आधाभन्दा बढी भइसकेको छ ।

पाँचतले सिटीमार्टका लागि प्रदेश सरकारले रु एक करोड ३५ लाख लगानी गरेकोे छ । अन्य रकम इलाम नगरपालिका र स्थानीय व्यापारीको लगानी रहने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिनुभयो । रु नौ करोड ८० लाख लागतमा निमाण भइरहेको सिटीमार्ट निर्माणपछि अव्यवस्थितरुपमा सञ्चालनमा रहेका कपडा पसल, मासु पसल र तरकारी पसल व्यवस्थित हुने भएको छ । सिटीमार्ट भवन निर्माणमा स्थानीय खुद्रा पसलेलेसमेत लगानी गरेका छन् ।

सार्वजनिक निजी साझेदारीमा निर्माण भइरहेको सिटीमार्ट आगामी वैशाखसम्ममा सम्पन्न हुने निर्माण व्यवसायीको दाबी छ । भवनमा दुई वटा लिफ्टसहित ९१ वटा पसल रहनेछन् । अपाङ्गमैत्री भवनमा ३८ वटा सिसी टिभी क्यामेरा जडान गरिने भएको छ ।

त्यस्तै हाल सञ्चालनमा रहेको बसपार्कमा भने मुख्यमन्त्री बहुतले भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी ठेक्का बन्दोबस्तीको तयारी भएको छ । यसले पनि जिल्लाको विकासमा टेवा पुग्ने अपेक्षा राखिएको छ ।